सुनकोशीमा बाढीको जोखिम, तटीय बस्तीलाई सतर्कता अपनाउन आग्रह
विराटनगर। चीनको तिब्बत क्षेत्रमा भइरहेका लगातार वर्षाका कारण सुनकोशी नदीमा बाढी आउन सक्ने सम्भावना देखिएपछि खोटाङ जिल्ला प्रशासन कार्यालयले तटीय बस्तीका स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै असार ७ गतेसम्म चीनको तिब्बत क्षेत्रमा भारी वर्षा हुने र सोही वर्षाका कारण आएको बाढी खोटाङको सुनकोशी नदीसम्म आइपुग्ने सम्भावना रहेको जनाएको हो।
सुनकोशी नदीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा, खोटेहाङ, बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकाका भू-भाग छोएर बग्ने भएकाले उक्त क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन, जोखिमयुक्त स्थानमा नबस्न र आवश्यक सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।
चीनको प्रहरी कार्यालयबाट प्राप्त सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले पहिल्यै सतर्कता सूचना जारी गरिसकेको छ। त्यसपछि खोटाङ प्रशासनले पनि असार ६ गते आफ्नै सूचना जारी गरेको हो।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सागर साहद्वारा जारी सूचनाबारे सम्बन्धित स्थानीय तहहरूलाई समेत जानकारी गराइएको प्रशासनले जनाएको छ।
गत वर्ष असार १२ गते सुनकोशी नदीमा आएको बाढीले दिक्तेल–गाईघाट सडकखण्डस्थित फोक्सिङ्टारको मोटरेबल पक्की पुल बगाएको थियो। सो घटनामा दर्जनौं स्थानीयवासी विस्थापित हुनुपरेको थियो।
प्रशासनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै बाढी तथा पहिरोसम्बन्धी पूर्वतयारी गर्न र सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।