विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता हुने
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ ।
पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा वैशाख १३ देखि २० गतेसम्म विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा उक्त प्रतियोगिता हुन लागेको हो ।
विराटनगरको कञ्चजंघा पार्टी प्यालेसमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक एमएम कप फाउण्डेशनले यसबारे जानकारी गराएको हो ।
यसअघिका दुई संस्करण सुनसरीको इनरुवामा गरिएको थियो । २०७५ सालमा भएको पहिलो संस्करणको उपाधि आर्मीले जित्दा २०७६ सालमा भएको दोस्रो संस्करणमा पनि आर्मीले नै बाजी मारेको थियो ।
आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले नेपाली क्रिकेटको विकास र स्तरोन्नतिका लागि नेपालमा कमै मात्रामा हुने ५० ओभरको प्रतियोगिता गर्न लागिएको बताए ।
प्रतियोगितामा भारतको असाम क्रिकेट टिम, घरेलु टिम कोशी प्रदेश, बागमती प्रदेश, विभागीय टोली नेपाल पुलिस क्लब, आर्मी क्लब र सशस्त्र प्रहरी क्लब सहभागी हुने अध्यक्ष घोषले जानकारी दिए । एक करोड लागतमा आयोजना भइरहेको प्रतियोगिता विजेतालाई नगद ४ लाख र ट्रफी, उपविजेतालाई २ लाख र ट्रफी, प्लेयर अफ द टुर्नामेन्टको उपाधी जित्ने खेलाडीलाई २५ हजार, उत्कृष्ट ब्याटर र बलरलाई १५–१५ हजार र प्लेयर अफ द म्याचको उपाधी जित्ने खेलाडीलाई नगद ४ हजार प्रदान गरिने अध्यक्ष घोषले जानकारी दिए ।
प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ भने दुवै टोलीका शीर्ष टोलीले फाइनल खेल खेल्ने छन् ।
१३ गते साविक विजेता टिम आर्मीले एपिएफको सामना गरेर प्रतियोगिताको शुरुवात गर्ने छ । प्रत्येक दिन एउटा खेल हुने सो प्रतियोगिताको फाइनल खेल २० गते हुने छ ।