गृहमन्त्री लेखकको प्रश्न : राजा गल्ती गरे कारबाही गरेर जेल हाल्न पाइन्छ ?
विराटनगर / मोरङ — गृहमन्त्री रमेश लेखकले राजतन्त्र पुनःस्थापनाको माग गरिरहेका पक्षलाई लक्षित गर्दै प्रश्न गरेका छन्, “राजा गल्ती गरे कारबाही गरेर जेल हाल्न पाइन्छ?” मंगलबार मोरङ कारागारमा नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले लोकतन्त्र र राजतन्त्रको अन्तरबारे स्पष्ट दृष्टिकोण राखे।
उनले भने, “लोकतन्त्रमा जो–सुकैलाई प्रश्न गर्न पाइन्छ, गल्ती गरे कारबाही गरेर जेल हाल्न पाइन्छ। तर, प्रश्न नै गर्न नपाउने व्यवस्था उपयुक्त हुन सक्दैन।” मन्त्री लेखकले २३ वर्ष उमेरसम्मका नयाँ पुस्ताले राजतन्त्रको अनुभूति नगरेको र १८ वर्षदेखि मुलुकमा लोकतान्त्रिक शासन व्यवस्था सञ्चालन भइरहेको उल्लेख गरे।
“युवापुस्ताले बुझ्न आवश्यक छ— लोकतन्त्रमा जवाफदेही प्रणाली हुन्छ, तर राजतन्त्रमा राजा कसैप्रति जवाफदेही हुँदैनथे,” उनले भने। उनका अनुसार लोकतन्त्रमा प्रतिपक्षले सरकारलाई प्रश्न गर्ने र सत्तापक्षले जवाफदेही भएर जवाफ दिने व्यवस्था रहन्छ। “जनताप्रति जवाफदेही नभएका नेताहरूलाई जनताले विकल्प खोजेर हटाउने गरेका छन्,” उनले थपे।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले उठाएको गभर्नर नियुक्तिको ढिलाइसम्बन्धी प्रश्नको उत्तर दिँदै मन्त्री लेखकले कर्मचारी नियुक्ति, सरुवा र बढुवालगायत प्रक्रिया विधिसम्मत रूपमा अघि बढिरहेको जानकारी गराए।
उनले वर्तमान सरकार स्थिर रहेको उल्लेख गर्दै भने, “१० महिनाको अवधिमा संसदमा अविश्वासको प्रस्ताव सामना गर्न नपरेको यो सरकारले अर्थतन्त्र, सुशासन र महँगी नियन्त्रणमा क्रमिक सुधार गरिरहेको छ।” जनताको निराशामा आशाको किरण पलाएको उनले दाबी गरे।