भारत–पाकिस्तान युद्धको सम्भावना बलियो, पहलगाम आक्रमणपछि तनाव चुलियो
विराटनगर / भारत र पाकिस्तानबीचको द्वन्द्वले खतरनाक मोड लिएको छ। जम्मु कश्मीरको पहलगाममा मंगलबार भएको आतंकवादी आक्रमणमा ३० पर्यटकको मृत्यु भएपछि भारतले पाकिस्तानविरुद्ध आक्रामक कदम चाल्ने तयारी गरेको छ।
भारतले आक्रमणको पछाडि पाकिस्तानी आतंकवादी समूहको संलग्नता पुष्टि गरेको भन्दै जल–स्थल र आकाशमार्गबाट एकसाथ कारबाही गर्ने तयारी गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भारतले पाकिस्तानका प्रमुख शहरहरूलाई लक्ष्य गर्दै हवाई आक्रमण सुरु गरिसकेको खबरहरू सार्वजनिक भएका छन्।
पाकिस्तानले समेत भारतविरुद्ध कडा प्रतिक्रिया जनाउँदै मिसाइल आक्रमणको तयारी गरिरहेको बताइएको छ। पाकिस्तानको प्रतिआक्रमणबाट भारतका विभिन्न शहरहरूमा ठूलो क्षति हुन सक्ने आशंका गरिएको छ।
दुबै देशबीच चुलिंदो तनावले जनतामा भय व्याप्त छ। युद्धको सम्भावनाले भारत र पाकिस्तानका सीमावर्ती क्षेत्रहरूमा उच्च सतर्कता अपनाइएको छ। नागरिकहरू अत्यावश्यक सामग्री संकलन गर्दै घरभित्रै सुरक्षित रहन थालेका छन्।
अन्तर्राष्ट्रिय समुदायले दुबै देशलाई संयमता अपनाउन आग्रह गरिरहेका छन्। यस घडीमा कूटनीतिक समाधान खोज्नुपर्नेमा बल दिँदै संयुक्त राष्ट्रसंघ लगायतका निकायहरूले गम्भीर चासो व्यक्त गरेका छन्।
क्षेत्रीय स्थायित्व र जनजीवनमा गम्भीर असर पार्न सक्ने सम्भावित युद्ध रोक्न तत्काल संवाद र समझदारीको आवश्यकता देखिएको छ।