झापाको चारकोशे वनमा दुर्लभ पहेंलो कछुवा फेला

झापा। झापाको हल्दिबारी गाउँपालिका–४ स्थित जलथलको चारकोशे वन क्षेत्रमा दुर्लभ पहेंलो रङ्गको कछुवा फेला परेको छ।

पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता विवेक बाँस्तोलाले सामुदायिक वन नजिकैको चिसो पानी रसाइरहने स्थानमा कछुवा देखेका हुन्। नेपालका चराचुरुङ्गी तथा जीवजन्तु अनुसन्धानकर्ता अस्मित सुब्बाका अनुसार उक्त कछुवा ‘स्पटेड नर्थर्न इन्डियन फ्ल्यापसेल टर्टल’ प्रजातिको हो।

सुब्बाले बताएअनुसार पाकिस्तानदेखि म्यानमारसम्म पाइने यो प्रजातिको कछुवा नेपालमा तराई क्षेत्रमा करिब ४०० मिटर उचाइसम्म सीमित छ। “यो कछुवामा देखिएको ‘क्रोमेटिक ल्युसिज्म’ अर्थात् पहेंलो रङ्गको दुर्लभ रूप नेपालमा दोस्रो पटक मात्र अभिलेख हुनसक्छ,” उनले भने। यसअघि जनकपुर क्षेत्रमा यस्तै खालको कछुवा भेटिएको थियो।

दुर्लभ प्रकृतिको भएकाले यो कछुवा जैविक विविधता र संरक्षणको दृष्टिकोणले विशेष महत्वको रहेको सुब्बाले बताए।

फेला परेको कछुवा जलथल सबडिभिजन वन कार्यालय, रंगियाडाँडाका कर्मचारीलाई जिम्मा लगाइएको वन समूहका सहसचिव भरत ढकालले जानकारी दिए।