ब्राउन सुगर सहित ७ जना पक्राउ

विराटनगर / मोरङ, सुनसरी र इलाम जिल्लाका विभिन्न स्थानहरूबाट लागू औषध ब्राउन सुगर सहित सात जना व्यक्ति पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो विराटनगर, काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएका प्रहरी टोलीहरूले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

वैशाख ११ गते, विराटनगर महानगरपालिका–१५ स्थितबाट लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले चेकजाँचका क्रममा मोरङ केराबारी गाउँपालिका–१० का २२ वर्षीय विर बहादुर तामाङलाई ३ ग्राम ९५ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको थियो।

त्यसैगरी, झापा मेचिनगर–६ स्थितबाट लागू औषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको टोलीले मोरङ मिक्लाजुङ–६ स्थायी वतन भई हाल दमक–८ बसोबास गर्दै आएकी २८ वर्षीया मिना लिम्बु राईलाई १ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ।

इलाम नगरपालिका–६ स्थितबाट जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको टोलीले सोही स्थानका २२ वर्षीय सन्तविर तामाङ, २९ वर्षीय बिजय नेम्बाङ लिम्बु, सन्दकपुर–४ का ३० वर्षीय चेत बहादुर गुरुङ, इलाम–७ का २७ वर्षीय सुप्रिम देवान र इलाम–८ का ३१ वर्षीय रोहित आलमलाई ३ ग्राम २५ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो।

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि लागु औषध सम्बन्धी मुद्दा दर्ता गरिने तयारी भइरहेको छ।

 

Add a Comment

Your email address will not be published. Required fields are marked *