April 26, 2025
इलाममा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, अभियुक्त प्रहरी नियन्त्रणमा
इलाम / इलाम जिल्लाको माई नगरपालिका–४, सिंजालीटारमा खुकुरी प्रहारबाट एक महिलाको ज्यान गएको छ। ५२ वर्षीया भूमिका चापागाईंको बैशाख १२ गते साँझ भएको घटनामा मृत्यु भएको हो।
स्थानीय ४२ वर्षीय शान्तिराम दुलालले सामान्य विवादका क्रममा चापागाईंमाथि धारिलो हतियार खुकुरी प्रहार गरेका थिए। टाउकोमा गम्भीर चोट लागेकी चापागाईंको उपचारको क्रममा बिर्तामोडस्थित बी.एण्ड.सी. अस्पतालमा निधन भएको इलाम प्रहरी कार्यालयले जनाएको छ।
घटनापछि प्रहरीले दुलाललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, घटना पारिवारिक वा व्यक्तिगत विवादका कारण भएको हुन सक्ने आशंका गरिएको छ।
प्रहरीले घटनाको थप विवरण संकलन गर्ने कार्य जारी राखेको छ।