बैशाख २६ गते “दुर्गेश थापा लाईभ ईन विराटनगर” भव्य रुपमा कार्यक्रम आयोजना हुदै 

विराटनगर/ नयाँ वर्ष २०८२ को अवसरमा चर्चित गायक दुर्गेश थापाको प्रस्तुतिमा विराटनगरमा भव्य सांस्कृतिक तथा सांगितिक कार्यक्रम आयोजना गरिने भएको छ। साईभ इन्टरटेन्मेन्ट र वायरल इभेन्ट एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा कार्यक्रम आगामी बैशाख २६ गते शुक्रबार, विराटनगर–८ स्थित हाटखोला खेल मैदानमा हुने भएको हो।

“दुर्गेश थापा लाईभ ईन विराटनगर” नाम दिइएको यो कार्यक्रम पहिलोपटक आयोजना गर्न लागिएको हो। कार्यक्रममार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै सामाजिक सद्भाव बढाउने लक्ष्य रहेको आयोजकले जनाएका छन्।

कार्यक्रममा दुर्गेश थापा मुख्य आकर्षणका रुपमा प्रस्तुत हुनेछन् भने विराटनगर म्युजिशियन ग्रुपको सांगितिक प्रस्तुति, स्थानीय डान्स क्लबहरुको नृत्य प्रस्तुति र फेसन शो समेत रहनेछ। साथै, दर्शकहरुको स्वादको लागि विभिन्न स्थानीय परिकारहरुको स्टल र प्रयोजक कम्पनीहरुको स्टल पनि रहने आयोजकले जानकारी दिएका छन्।

कार्यक्रमका संयोजक सन्तोष महत (स्यान्ट्रो) र व्यवस्थापक कुमुद जैन (करण) का अनुसार कार्यक्रमको अनुमानित लागत रु. १३ लाख रहेको छ। लागत संकलनका लागि टिकट बिक्री, विज्ञापनदाता कम्पनीहरु तथा विभिन्न संघसंस्थाको सहयोग लिइनेछ।

सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालय मोरङबाट स्वीकृति लिइएको र नेपाल प्रहरी, शसस्त्र प्रहरी, निजी सुरक्षा गार्ड, बाउन्सर र स्वयंसेवकहरुको उचित व्यवस्था मिलाइएको छ। संकलित आम्दानीबाट केही रकम विपन्न तथा अपाङ्ग व्यक्तिहरुलाई सहयोगको रूपमा प्रदान गरिने कार्यक्रम संयोजक सन्तोष महरले जानकारी दिए। कार्यक्रममा दिउँसो ४:०० बजेबाट सुरु हुने छ भने प्रवेश शुल्क प्रि-सेल टिकट: रु. २००,डोर सेल रु. ३०० ,फ्यान पिट रु. १००० रहेको छ।

 

 

 

Add a Comment

Your email address will not be published. Required fields are marked *