गाँजासहित दुई सवारी साधन र तीन जना पक्राउ

विराटनगर / धनकुटा र सुनसरी जिल्लाबाट ठूलो परिमाणमा लागूऔषध गाँजा ओसारपसारमा संलग्न दुई वटा सवारी साधनसहित तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

बैशाख १५ गते राति विशेष सूचनाको आधारमा धनकुटाको इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी बिट मौनावुधुकबाट खटिएको प्रहरी टोलीले धनकुटा जिल्लाको चौविसे गाउँपालिका–५ स्थित स्थानबाट ना.५ख ६१५७ नम्बरको ट्रक जाँच गर्दा ३८ बोरा (९४६ किलोग्राम) गाँजा फेला पारेको हो। उक्त ट्रकमा गाँजा ओसारपसारमा संलग्न चौविसे गाउँपालिका–५ का मनोज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ।

त्यसैगरी, सुनसरी जिल्लाको इलाका प्रहरी कार्यालय सितागञ्जबाट खटिएको प्रहरी गस्ती टोलीले बर्जु गाउँपालिका–३ स्थितबाट प्र.१–०२–००२ च ५१२६ नम्बरको पिकअप गाडी जाँच गर्दा ६ बोरा (१९९ किलो ३ ग्राम) गाँजा फेला पारेको हो। सो घटनामा संलग्न गाडी चालक धनकुटा नगरपालिका–९ का उद्धव भण्डारी र सोही स्थानका सहचालक कबिराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गाँजा सहित दुई वटा सवारी साधन र तीन जना व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।