गिनिज वर्ल्ड रेकर्ड तोड्दै नेपाली युवा सुनिल खड्का विश्वमञ्चमा

विराटनगर । नेपाली क्यालिस्थेनिक्स एथ्लेट सुनिल खड्काले एक मिनेटमा ३२ क्ल्याप पुलअप गर्दै गिनिज वर्ल्ड रेकर्ड तोडेका छन्। उनले यससँगै सन् २०१५ मा अमेरिकाका ब्लेक अगस्टिनले बनाएको ३० क्ल्याप पुलअपको रेकर्ड भंग गरेका हुन्। गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले हालै उक्त उपलब्धिलाई प्रमाणीकरण गर्दै आफ्नो वेबसाइटमा प्रकाशनसमेत गरेको छ।

धादिङको गल्छीका २५ वर्षीय खड्काले गत असार ७ गते (२१ जुन) ललितपुरस्थित बज्र ननिता फिटनेस सेन्टरमा औपचारिक प्रयास गरेका थिए। सो अवसरमा नेपाल युथ फिटनेस एण्ड क्यालिस्थेनिक्सका संस्थापक तथा अन्तर्राष्ट्रिय सर्टिफाइड स्ट्रेन्थ एन्ड कन्डिसनिङ स्पेशलिस्ट सुकदेव कार्की प्रमुख निर्णायकको रूपमा उपस्थित थिए।

सुनिलको यो सफलता केवल व्यक्तिगत उपलब्धि नभई, सम्पूर्ण नेपाली युवाहरूको प्रेरणा बनेको छ। उनले क्यालिस्थेनिक्स यात्रा सन् २०२० मा सुरु गरेका थिए। सुरुवाती दिनहरूमा उनले तीनवटा पनि पुलअप गर्न नसक्ने अवस्था रहेको स्मरण गर्दै निरन्तर पाँच वर्षको कठिन परिश्रमपछि यस्तो उपलब्धि सम्भव भएको बताए।

क्ल्याप पुलअप अत्यन्तै जटिल व्यायाम हो जसमा शरीरलाई बारबाट तानेर हावामा ताली बजाएर पुनः बार समात्नुपर्ने हुन्छ। यसमा उच्च शक्ति, समन्वय र गतिको संयोजन आवश्यक हुन्छ।

“नेपालको झण्डा लिएर म विश्व सामु उभिन पाउँदा म भन्दा बढी मेरो देशप्रति गर्व महसुस भयो। यो केवल मेरो उपलब्धि होइन, सम्पूर्ण नेपाली युवाहरूको जित हो,” सुनिलले भने।

सुनिलले हालै पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट एयरोस्पेस इन्जिनियरिङमा स्नातक सम्पन्न गरेका छन्। उनी प्रमाणित पर्सनल ट्रेनरका रूपमा पनि सक्रिय छन्।

सन् २०२४ मा मुम्बईमा आयोजित एशियन क्यालिस्थेनिक्स च्याम्पियनसिपमा उनले एक स्वर्ण र एक रजत पदक जितेर नेपालको झण्डा फहराएका थिए। उनले यसअघि पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका छन्।

Add a Comment