बुढीगंगामा अन्तर्राष्ट्रिय स्तरको एलेक्सा लाइफसाइन्सेज औषधि उद्योग स्थापना

विराटनगर / कोशी प्रदेशको मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका–२ स्थित बाइपास रोडमा एलेक्सा लाइफसाइन्सेज प्रा.लि. नामक अन्तर्राष्ट्रिय स्तरको उच्च गुणस्तरीय औषधि उद्योग स्थापना गरिएको छ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा उद्योगका प्रविधि, उत्पादन प्रक्रिया तथा प्रणालीबारे विस्तृत जानकारी दिइएको छ। एभरेस्ट बैंक लिमिटेड दुहबी शाखाको वित्तीय ऋण सहयोगमा स्थापना गरिएको यो उद्योगका संचालकहरू दिनेश ठाकुर स्वर्णकार र रञ्जित भगत हुन्। कुल १०० करोड रुपैयाँ लगानीमा निर्माण भइरहेको उद्योगमा हालसम्म पहिलो चरणअन्तर्गत ७५ करोड रुपैयाँ लगानी भइसकेको र पूर्ण सञ्चालनका लागि थप २५ करोड रुपैयाँ आवश्यक पर्ने जनाइएको छ।

“विश्व स्वास्थ्य संगठनको कुशल औषधि उत्पादन अभ्यास तथा विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अत्याधुनिक प्लान्ट निर्माणको अन्तिम चरणमा छौं,” एलेक्सा लाइफसाइन्सेजका अध्यक्ष स्वर्णकारले पत्रकार सम्मेलनमा बताए। उनले गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

उद्योगले आफ्नो उत्पादन तीन चरणमा बजारमा ल्याउने योजना बनाएको छ। पहिलो चरणमा अत्यावश्यक सलाइन पानी (आई.भी. फ्लुइड्स — १०० मिलि, ५०० मिलि, १००० मिलि र ३००० मिलि) उत्पादन गरिनेछ। दोस्रो चरणमा सुईहरू (१ मिलि देखि २० मिलि सम्मका लिक्विड इन्जेक्टेबल्स) र तेस्रो चरणमा आँखा तथा कानका थोपाहरु उत्पादन गरिनेछ।

नेपालको आई.भी.पी. क्षेत्रमा हाल एक नेपाली र १० विदेशी कम्पनीहरूको उत्पादन मात्र बजारमा उपलब्ध रहेको र एलेक्सा सञ्चालनमा आएपछि नेपालकै सबैभन्दा ठूलो तथा स्तरीय औषधि कम्पनी बन्ने विश्वास व्यक्त गरिएको छ।

पत्रकार सम्मेलनमा प्रस्तुत तथ्यांक अनुसार, नेपालको औषधि क्षेत्रमा वार्षिक करिब ६० अर्ब रुपैयाँको कारोबार हुन्छ, जसमा ६० प्रतिशत हिस्सा विदेशी कम्पनीहरूको नियन्त्रणमा रहेको छ। यद्यपि नेपालमा १०० भन्दा बढी कम्पनी दर्ता भए पनि करिब ७५ वटा मात्र सञ्चालनमा रहेका र तीमध्ये २०–२५ वटा कम्पनी मात्र सन्तोषजनक अवस्थामा रहेको उल्लेख गरिएको छ।

पत्रकार सम्मेलनमा औषधि उद्योगको प्रमुख चुनौतीहरू पनि उठान गरिएको थियो। अनियमित विद्युत आपूर्ति, औद्योगिक सामग्रीमा चर्को भन्सार शुल्क, मूल्य अभिवृद्धि कर, आयातित औषधिसँगको अनुचित प्रतिस्पर्धा, स्वास्थ्य बिमामा समयमा भुक्तानी नहुनु र औषधिको मूल्य समायोजन नहुनुजस्ता समस्याहरू उद्योगको विकासका बाधक बनेका छन्।

एलेक्सा लाइफसाइन्सेजले २०० भन्दा बढी प्रत्यक्ष तथा ५०० भन्दा बढी अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने, औषधि आयात प्रतिस्थापन गर्ने र भविष्यमा निर्यातमार्फत मुलुकको जीडीपी वृद्धिमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

“बिगत २५ वर्षदेखि हामी सलाइनको उत्पादन, बजारीकरण र अस्पताल क्षेत्रमा सक्रिय छौं,” स्वर्णकारले भने। “यो अनुभवलाई उपयोग गरी नेपालमै अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका गुणस्तरीय औषधि उत्पादन गर्ने हाम्रो प्रतिबद्धता हो।”

 

Add a Comment

Your email address will not be published. Required fields are marked *