५७ वर्ष पुरानो विद्यालय मर्ज भएपछि बेवारिसे अवस्थामा

रङ्गेली । मोरङको रङ्गेली नगरपालिका–३ स्थित निशानथानमा रहेको ५७ वर्ष पुरानो सरस्वती निम्न माध्यमिक विद्यालय विद्यालय मर्ज प्रक्रियापछि दुई वर्षदेखि पूर्ण रूपमा सुनसान र बेवारिसे अवस्थामा पुगेको छ।

२०२५ सालमा स्थानीय बासिन्दाहरूको श्रमदान र लगानीमा स्थापना गरिएको उक्त विद्यालय आर्थिक रुपमा कमजोर तथा अतिविपन्न परिवारका बालबालिकाहरूलाई लक्षित गरी सञ्चालन गरिएको थियो। तर नेपाल सरकारले सरकारी विद्यालयहरूमा विद्यार्थी संख्या न्यून भएमा नजिकका विद्यालयमा मर्ज गर्ने नीति ल्याएपछि रत्न माध्यमिक विद्यालयमा समायोजन गरिँदै सरस्वती निम्न माध्यमिक विद्यालय बन्द गरिएको हो।

स्थानीय नवराज थापाका अनुसार विद्यालयको शुरुवाती अवस्था निकै कष्टकर थियो। “कक्षाकोठा नहुँदा बालबालिकाहरूलाई चौरमै बसेर पढाउनु पर्थ्यो,” उनले स्मरण गरे। पछिल्ला वर्षहरूमा विद्यार्थी संख्या घट्दै जाँदा अन्ततः दुई वर्षअघि यहाँ केवल दुई जना विद्यार्थी मात्रै आउने गरेको हुँदा नगरपालिकाले उनीहरूलाई रत्न माध्यमिक विद्यालयमा स्थानान्तरण गरेपछि विद्यालय पूर्ण रूपमा बन्द गरियो।

नगरपालिकाको शिक्षा शाखाका एक कर्मचारीले जानकारी दिए अनुसार सरकारी नीतिअनुसार विद्यार्थी संख्या न्यून भएपछि दुई विद्यालयलाई मर्ज गर्ने निर्णय गरिएको थियो। अहिले विद्यालयको भवन, फर्निचर, शौचालय लगायतका भौतिक संरचना जीर्ण अवस्थामा पुगेका छन्।

स्थानीयवासीहरू विद्यालय बन्द हुँदा दुःखी छन्। उनीहरूका अनुसार २०२५ सालमा स्थानीयहरूको लगानी र स्वेच्छिक श्रमबाट विद्यालय निर्माण गरिएको थियो ताकि गाउँका गरिब र पिछडिएका वर्गका बालबालिकाहरूलाई सहजै शिक्षाको पहुँच दिलाउन सकियोस्। तर अहिले विद्यालयको संरचना नै खण्डहरझैँ देखिन थालेको उनीहरूको गुनासो छ।

पूर्व उपमेयर केशबकुमारी खरालले विद्यालयको अवस्थाप्रति सरकार तथा स्थानीय जनप्रतिनिधिहरूको उदासीनता रहेको आरोप लगाइन्। “चुनावमा मत नदिएको बहानामा यो क्षेत्रलाई अपहेलना गरिएको छ,” उनले भनिन्।

त्यस्तैगरी, रङ्गेली–३ को दक्षिण टोलमा रहेको अर्को सार्वजनिक आधारभूत विद्यालय पनि मर्ज भएपछि बेवारिसे अवस्थामा पुगेको छ। वडा अध्यक्ष भरत प्रसाईंले मर्ज भएका विद्यालयहरूको संरक्षण र उपयोगका लागि पहल भइरहेको जानकारी दिए। “त्यस स्थानलाई अन्य सामाजिक वा शैक्षिक प्रयोजनमा प्रयोग गर्ने गरी योजना बनाउने तयारी छ,” उनले बताए।

स्थानीयहरूका अनुसार गाउँ–गाउँमा निजी विद्यालयहरूको संख्या बढेसँगै सामुदायिक विद्यालयहरू दिनप्रतिदिन ओझेलमा पर्दै गएका छन्। शिक्षण पेशामा रहेका सरकारी शिक्षकहरूले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाउने प्रवृत्तिले सामुदायिक विद्यालयहरूको अस्तित्व नै संकटमा परेको जनगुनासो रहेको छ। जबसम्म सरकारी शिक्षकहरूले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमै पढाउने नीतिको कार्यान्वयन हुँदैन, तबसम्म यस्ता विद्यालयहरूको अवस्था अझ खस्किने चिन्ता स्थानीयवासीहरूले व्यक्त गरेका छन्।