April 30, 2025
सुनसरीमा लागूऔषध गाँजासहित सिटी सफारी र चालक पक्राउ
बिराटनगर / सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–३ स्थित गौतमपुरबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक सिटी सफारी र त्यसका चालकलाई पक्राउ गरेको छ।
बैशाख १६ गते प्रहरी चौकी घुस्की र अस्थायी प्रहरी चौकी गौतमपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँचका क्रममा प्रदेश १–०२–००४ ह १६४३ नम्बरको सिटी सफारीबाट ४१ किलोग्राम गाँजा बरामद गरेको हो। गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा सवारी चालक इनरुवा नगरपालिका–७ का ३० वर्षीय अमिर मियाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका मियाँसहित बरामद गरिएको गाँजा र सवारी साधन जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको छ र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।