कोशी प्रदेशको प्रथम लगानी सम्मेलनमा विराटनगर महानगरको आह्वान: “लगानीमैत्री वातावरण, सजिलो प्रक्रिया र अपार सम्भावना”
विराटनगर/ कोशी प्रदेश सरकारको प्रथम लगानी सम्मेलनमा विराटनगर महानगरपालिकाले लगानीकर्तालाई विभिन्न क्षेत्रमा ढुक्क भएर लगानी गर्न आह्वान गरेको छ ।
महानगरका मेयर नागेश कोइरालाले औद्योगिक नगरीको रुपमा स्थापित महानगरले लगानीको वातावरणसँगै विशेष आर्थिक क्षेत्र, कर छुट, सरल प्रक्रिया, लगानीमैत्री वातावरण विकासका लागि आह्वान गरेको बताए ।
मुलुककै जेठो उद्योग जुट मिल्स पुनः सञ्चालनदेखि नयाँ उद्योग, होटल ब्यवसाय, उद्यमका लागि महानगर उपर्युक्त रहेको मेयर कोइरालाको भनाई छ । मेयर कोइरालाले भने,’महानगरले लगानी गर्ने र उद्यमीहरुका लागि कानुनी प्रक्रिया पुराएर सहजता दिनेछ । यही क्षेत्रीय विमानस्थल र अन्तर्राष्ट्रिय हवाई सेवा र पर्यटन प्रवद्र्धनका लागि विस्तार भइरहेको छ । यसले पनि लगानीकर्तादेखि सर्वसाधारणलाई सहज हुनेछ । यहाँ सडकदेखि रेलमार्गको सञ्जालसमेत विस्तार भएको छ । भारतसंगको रेलमार्गको विस्तारले उद्यमीलाई मालसमान ढुवानी गर्न सकिने अवस्था छ।’
महानगरले छिमेकी देशहरुको ३ अर्बबढि जनसंख्या मध्ये १ अर्ब ८० करोड जनसंख्याको प्रत्यक्ष ब्यापारिक पहँुच राख्ने जनाएको छ । मेयर कोइरालाका अनुसार लगानीका लागि विराटनगरले हरसंभव अवसर प्रदान गर्ने बताए । उनले विराटनगर मुलुककै लगानीको उत्कृष्ठ गन्तब्य बनाउने भौगोलिक स्थितीपनि भएको उल्लेख गरे ।
महानगरबाट विभिन्न चारवटा राष्ट्र भारत बंगलादेश, भुटान र चीनसंग निकटता राखेर काम गर्न सकिने बताउँदै मेयर कोइरालाले भारतको विहार जोगबनी ६ किलोमिटरदेखि चीनको किमान्थान्कासम्म सडक सञ्जाल विस्तारको काम अन्तिमचरणमा पुगेको उल्लेख गरे । मुलुकको कुल कृषि उत्पादन, आधुनिक प्रशोधन, चिस्यान केन्द्र, निर्यातमुखी उद्योगको संभावना रहेको महानगरले जनाएको छ ।
त्यसैगरी, महानगरमा कपडा तथा साना निर्माण उद्योग, सस्तो श्रम बजार नवीकरणीय र सौर्य ऊर्जा लगायतका क्षेत्रमा लगानीको अवसर रहेको महानगले उल्लेख गरेको छ ।