लागूऔषध ब्राउन सुगर र गाँजा सहित ४ जना पक्राउ

विराटनगर /  पूर्वी नेपालका विभिन्न जिल्लाहरूबाट प्रहरीले लागूऔषध र गाँजा सहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट ब्राउन सुगर, प्रतिबन्धित औषधि र गाँजा बरामद गरिएको छ।

वैशाख १७ गते साँझ विराटनगर महानगरपालिका–१६ स्थित इलाकाबाट लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले चेकजाँचको क्रममा तीन जनालाई ब्राउन सुगर सहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुनसरी धरान उप–महानगरपालिका–१५ का ३५ वर्षीय डेबिट तामाङ, धनकुटा महालक्ष्मी–४ का १९ वर्षीय विक्रम तामाङ, र मोरङ सुन्दरहरैंचा–५ का २४ वर्षीय दुखन ऋषिदेव रहेका छन्। उनीहरूको साथबाट क्रमशः ४ ग्राम ५९ मिलिग्राम र ४१० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, धनकुटाको इलाका प्रहरी कार्यालय भेडेटारले छथरजोरपाटी गाउँपालिका–५ का २४ वर्षीय निमा शेर्पालाई २ किलो गाँजासहित पक्राउ गरेको छ। उनी प्र. १–०२–०५५ प ३९०७ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका थिए।

पक्राउ परेका सबै अभियुक्तहरूलाई आवश्यक कानुनी कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।