अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षे हुने
विराटनगर । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षका लागि मान्य हुने भएको छ। सरकारले ‘केही नेपाल ऐन संशोधन विधेयक’मार्फत सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा संशोधन गर्दै चालक अनुमतिपत्रको अवधि पाँच वर्षबाट बढाएर १० वर्ष कायम गरेको हो।
सरकारले उक्त संशोधित विधेयक राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइसकेको छ। यसअघि चालक अनुमतिपत्रको वैधता अवधि ५ वर्षमात्र थियो।
संशोधित ऐनको दफा ५४ को उपदफा ३ मा अब चालक अनुमतिपत्र दिइएको मितिदेखि दश वर्षसम्म बहाल रहने स्पष्ट गरिएको छ।
त्यस्तै, दफा ५६ मा रहेको चालक अनुमतिपत्र नवीकरणसम्बन्धी व्यवस्थामा समेत संशोधन गरिएको छ। संशोधित व्यवस्थाअनुसार अब नवीकरणका लागि पेश भएको चालक अनुमतिपत्र अर्को १० वर्षका लागि नवीकरण हुने व्यवस्था गरिएको छ।
यस परिवर्तनसँगै सवारी चालकहरूलाई बारम्बार लाइसेन्स नवीकरणको झन्झट हट्नेछ भने प्रशासनिक प्रक्रिया सरल र प्रभावकारी हुने अपेक्षा गरिएको छ।