‘अञ्जिला’ फिल्म ५१ औँ दिनमा प्रवेश, १० करोडभन्दा बढीको व्यापार
काठमाडौं / नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ दिनमा प्रवेश गरेको छ। गत वर्षको फागुन २९ गतेदेखि देशव्यापी प्रदर्शनमा आएको फिल्मले १० करोडभन्दा बढीको व्यवसाय गर्दै यो उपलब्धि हासिल गरेको हो।
मिलन चाम्स निर्देशित यो फिल्म सम्भवत: ५१ दिन प्रदर्शनमा टिक्न सफल भएको पहिलो नेपाली बायोपिक फिल्म बनेको निर्देशक चाम्सले दाबी गरेका छन्। “फिल्मले ५१ औँ दिन छोएको छ, जुन नेपाली बायोपिक इतिहासमै पहिलो हुनसक्छ,” उनले भने।
फिल्मले ५१ दिन पूरा गरेको उपलक्ष्यमा निर्माण युनिटले शुक्रबार विशेष कार्यक्रमको आयोजना गर्दै सफलताको उत्सव मनाउने तयारी गरेको छ।
‘अञ्जिला’ फिल्ममा एन्जिला तुम्बापो सुब्बासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ।