भारतिय नम्बरको एम्बुलेन्सबाट १८० किलोग्राम गाँजा बरामद
सुनसरी/सुनसरीको रामधुनी नगरपालिका–६ स्थित पिडारीबाट प्रहरीले भारतिय नम्बर प्लेट भएको एक एम्बुलेन्समा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।
विशेष सूचनाका आधारमा वैशाख २० गते राति ९ बजे इलाका प्रहरी कार्यालय इटहरी, धरान, पकली र रामधुनीबाट खटिएको संयुक्त प्रहरी टोलीले लोकमार्ग तथा भित्री सडकहरूमा चेकजाँच गर्ने क्रममा भारतिय नम्बर BR38P5414 भएको एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो। सो एम्बुलेन्सबाट ६ वटा बोरामा लुकाइ छिपाइ ल्याइएको १८० किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
गाँजा बरामद भएसँगै प्रहरीले एम्बुलेन्स चालक बराहक्षेत्र नगरपालिका–४ का २५ वर्षीय श्रीराज कुमार साहलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पकलीमार्फत आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार एम्बुलेन्सजस्तो संवेदनशील सवारी साधनको दुरुपयोग गरि लागूऔषध तस्करी गर्न खोजिएको यो घटना गम्भीर प्रकृतिको भएकोले अनुसन्धानलाई थप सशक्त बनाइएको छ।