May 6, 2025
मकालु हिमाल आरोहणको क्रममा अमेरिकी आरोहीको मृत्यु
विराटनगर /संखुवासभाको मकालु हिमाल चढ्ने क्रममा एक अमेरिकी आरोहीको मृत्यु भएको छ। मकालु गाउँपालिकामा अवस्थित मकालु हिमाल आरोहणको क्रममा ३९ वर्षीय अमेरिकी नागरिक एलेक्जेन्डर पन्काओको निधन भएको हो।
आइतबार राति तेस्रो क्याम्प पूरा गरी विश्राम गरिरहेका बेला राति करिब ८ बजे उनको मृत्यु भएको हो। पर्यटन विभागका सूचना अधिकारी लिलाधर अवस्थीका अनुसार प्रारम्भिक जानकारीअनुसार पन्काओको हृदयाघातका कारण मृत्यु भएको बताइएको छ।
पन्काओ हिमालयन गाइड्स ट्रेकिङ कम्पनीमार्फत मकालु हिमाल आरोहणका लागि आएका थिए। मृतकको शव काठमाडौं ल्याउन सम्बन्धित एजेन्सीसँग समन्वय तथा सहजीकरणको काम भइरहेको अवस्थीले जानकारी दिएका छन्।
पन्काओको निधनप्रति पर्यटन क्षेत्रले दुःख व्यक्त गर्दै पर्वतारोहणका क्रममा आवश्यक स्वास्थ्य सतर्कता अपनाउनुपर्नेमा पनि जोड दिएको छ।