बाढीले जन्ती फर्काउँदै गरेको बस बगायो, पुल नहुँदा जोखिममा स्थानीय

विराटनगर / उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित सिवाई–बेल्हा गाउँको बीचबाट बग्ने त्रियुगा नदीमा आएको बाढीले सोमबार राति जन्ती लिएर फर्कँदै गरेको यात्रुवाहक बस बगाएको छ।

इलाका प्रहरी कार्यालयका अनुसार को १ ख ४७५३ नम्बरको ‘बराहक्षेत्र’ नामक बस सप्तरीबाट जन्ती पु¥याएर बेल्टार फर्कने क्रममा राति करिब ११ बजे त्रियुगा नदी पार गर्न खोज्दा बाढीको बीचमा फसेर बगेको हो। बसमा चालक र सहचालक मात्र सवार थिए, उनीहरू दुवै सकुशल रहेका छन्।

बस न्यू प्रतिसारा यातायात सेवा अन्तर्गत धरान–बेल्टार रुटमा सञ्चालन हुँदै आएको थियो।

सिवाई–बेल्हा जोड्ने त्रियुगा नदीमाथिको पक्की पुल वर्षौंदेखि निर्माणाधीन अवस्थामा रहेको छ। पुल निर्माण सम्पन्न भएर उद्घाटन हुन नपाउँदै भत्किएको हो, जसले स्थानीय बासिन्दालाई वर्षेनी बर्खायाममा ज्यान जोखिममा राखेर नदी पार गर्न बाध्य बनाएको छ।

१२ वर्षअघि शिलान्यास गरिएको उक्त पुल २०७८ मा निर्माण सक्ने योजना थियो। तर बाढीका कारण दुई पिलर भासिँदा तीन स्पान क्षति भएको र पुल प्रयोगविहीन भएको छ। ३०७ मिटर लम्बाइ र ५ मिटर चौडाइको उक्त पुल महालक्ष्मी–लोकप्रिय जेभी कन्स्ट्रक्सन, कलंकी काठमाडौँले निर्माण गरेको हो। डिजाइन तथा माटो परीक्षण स्वाइल कन्सल्टेन्सी, बालाजुले गरेको थियो।

चौदण्डीगढी–५ का वडाध्यक्ष तुलसीराम ढकालका अनुसार, “पटक–पटक संघीय सरकार, भौतिक पूर्वाधार मन्त्रालय र प्रधानमन्त्रीसमक्ष पुल निर्माणको आग्रह गरियो, तर अहिलेसम्म सुनुवाइ भएको छैन।”

पुल नहुँदा चौदण्डीगढी–५, ९ र १० वडाका करिब २० हजार बासिन्दा नगरको केन्द्रसँग आवागमन गर्न नसकेकाले सामाजिक तथा आर्थिक गतिविधिमा समेत प्रतिकूल असर परेको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *