इजरायल–इरान तनावका बीच बंकरमा आश्रय लिन बाध्य भए मेयर कोइराला

विराटनगर। इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला इजरायल–इरानबीचको तनावका कारण बंकरमा बस्न बाध्य भएका छन्। भ्रमणकै बीच इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले जेरुसलेम र तेल अभिभ लगायतका क्षेत्रमा मिसाइल र रकेट आक्रमण गरिरहेको छ।

इरानको प्रतिआक्रमणको जोखिम बढेपछि मेयर कोइरालासहित विभिन्न देशका १७ जना जनप्रतिनिधि इजरायलको सेफाइम शहरमा सुरक्षित बंकरमा राखिएको छ। टोलीमा फिलिपिन्सका दुई सांसद पनि छन्। टेलिफोनमार्फत कोइरालाले भने, “इजरायलको सहकारी अभ्यासबारे अध्ययन गर्न आएका हौं। इजरायली सरकारले नै हामीलाई हाल बंकरमा राखेको छ।”

उनीहरू बसेको क्षेत्र इजरायलको राजधानीबाट ३० किलोमिटर टाढा पर्छ। अन्य समयमा बाहिर निस्कन मिल्ने भए पनि साइरन बज्नेबित्तिकै बंकरमा फर्कनुपर्ने कडा नियम लागू गरिएको छ।

मेयर कोइरालाको जेठ ६ गते नेपाल फर्कने कार्यक्रम तय भए पनि हाल विमानस्थलहरू बन्द गरिएकोले फर्कने मिति अन्योलमा परेको छ। “फर्कने निश्चित समय केही छैन,” उनले बताए।

इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले कोइरालासँग भेट गरिसकेका छन् भने परराष्ट्रमन्त्री आरजु राणा देउवासँग समेत कुराकानी भएको उनले जानकारी दिएका छन्।

इजरायल र इरानबीचको तनाव बढेसँगै इजरायलले आपतकाल घोषणा गर्दै विमानस्थलहरू बन्द गरेको छ। इरानले इजरायलका प्रमुख सहरहरूमा मिसाइल तथा रकेट आक्रमण गरिरहेको बताइएको छ।