भारतको ‘अपरेसन सिन्दुर’पछि पाकिस्तानमा आपत्काल घोषणा, तनाव चुलिँदै

विराटनगर / भारतले कास्मिरको पहलगाममा भएको आतंककारी हमलाको प्रतिशोधस्वरूप पाकिस्तानका विभिन्न स्थानमा सैन्य कारबाही गरेपछि दुई छिमेकी राष्ट्रबीचको सम्बन्ध झनै तनावपूर्ण बनेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उक्त कारबाहीलाई ‘अपरेसन सिन्दुर’ नाम दिइएको छ।

भारतीय सैन्य आक्रमणपछि पाकिस्तानको पञ्जाव राज्यमा आपत्काल घोषणा गरिएको पाकिस्तानी मिडियाले जनाएका छन्। पाकिस्तानस्थित डान पत्रिकाका अनुसार भारतले कोल्टी, बहावलपुर, मुरिदके, बाघ र मुजफरबादसहित नौ स्थानमा आक्रमण गरेको हो।

डानले जनाएको अनुसार भारतको आक्रमणबाट हालसम्म तीन जनाको मृत्यु र १२ जना घाइते भएका छन्।

भारतको कारबाहीपश्चात् भारतीय रक्षामन्त्री राजनाथ सिंहले आफ्नो एक्स (पूर्व ट्विटर) ह्यान्डलमा “भारत माता की जय” लेख्दै सैनिक कदमलाई समर्थन जनाएका छन्।

यसबीच, पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले भारतको सैन्य आक्रमणलाई युद्धको संज्ञा दिँदै यसको ‘उचित जवाफ दिइँदैछ’ बताएका छन्। डानले सरिफलाई उद्धृत गर्दै लेखेको छ, “भारतले सुरु गरेको यो युद्धको उचित प्रतिकार गर्न पाकिस्तानलाई पूर्ण अधिकार छ। सम्पूर्ण राष्ट्र सेनाको साथमा छ र मनोबल उच्च छ।”

केही भारतीय सञ्चारमाध्यमले पाकिस्तानले पनि जवाफी कारबाही थालेको दाबी गरेका छन्। यसबाट दुवै राष्ट्रबीच सैन्य तनाव थप चर्किएको देखिन्छ।

सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाइएको छ भने अन्तर्राष्ट्रिय समुदायले स्थिति गम्भीर रुपमा नियालिरहेको छ। आगामी दिनमा दुवै मुलुकबीचको सम्बन्ध कुन दिशातर्फ उन्मुख हुन्छ भन्नेमा चासो बढेको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *