झापाका विभिन्न स्थानमा तीन जनाको शव फेला

विराटनगर । झापाका छुट्टाछुट्टै स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन्। अर्जुनधारा र बिर्तामोड क्षेत्रका विभिन्न स्थानमा उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार बुधबार बिहान अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँ बस्तीबाट शवहरू फेला परेका हुन्।

अर्जुनधारा–४ मा भेटिएको शवको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। अर्जुनधारा–११ नयाँ बस्तीमा फेला परेका ६० वर्षीय मित्रलाल कामी र बिर्तामोड–२ फूलबारी टोलका ३६ वर्षीय राम टुडुको मृत्यु भएको पुष्टि भएको छ।

तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।