नेपाल लाइफ इन्सुरेन्सका शाखा प्रमुख बीमा रकम हिनामिनामा संलग्न, प्रहरीको फन्दामा
विराटनगर/ बीमा रकम हिनामिना गरी ठगी गरेको आरोपमा नेपाल लाइफ इन्सुरेन्स कम्पनीको विराटनगर शाखा प्रमुख सन्तोष अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ।
मोरङको केरावारी गाउँपालिका–९ का नईन्द्र विश्वकर्मा सन् २०८० मा वैदेशिक रोजगारीका लागि बहराइन गएका थिए। गम्भीर मृगौला रोगका कारण उनी २०८१ मा नेपाल फर्किएका थिए र उपचारकै क्रममा उनको निधन भएको थियो।
मृतककी पत्नी भीमकुमारी विश्वकर्माले नेपाल लाइफ इन्सुरेन्सबाट पाउनुपर्ने १३ लाख रुपैयाँ बीमा रकमका लागि विराटनगर शाखामा सम्पर्क गरेकी थिइन्। तर, शाखा प्रमुख अधिकारीले बीमा प्रक्रियाबारे अज्ञान भएकी भीमकुमारीलाई झुक्याएर विभिन्न कागजातहरूमा सही–छाप गराई, ग्लोबल आइएमई बैंकमा एकल तथा संयुक्त खाता खोल्न लगाएका थिए। अनुसन्धान अनुसार, अधिकारीले ती खाताका चेकबुकहरू आफूसँग राखेर रकम हिनामिना गरेका छन्।
जब भीमकुमारीले बीमा रकममध्ये जम्मा ५ लाख ७६ हजार रुपैयाँ मात्रै उपलब्ध हुने जानकारी पाइन, त्यसपछि उनले जिल्ला प्रशासन कार्यालय, मोरङमा निवेदन दिएकी थिइन्। अनुसन्धानको क्रममा अधिकारीले भीमकुमारीको नाममा १५ वर्षे बीमा योजना कायम गराई वार्षिक ७० हजार रुपैयाँ बुझाउनु पर्ने शर्त राखिएको पाइएको छ। साथै, मृतकका नाति प्रतिक विश्वकर्मा र पहिलो पत्नी मिरा विश्वकर्माको नाममा समेत बीमा गराई अनावश्यक आर्थिक भार सिर्जना गरिएको देखिएको छ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेद प्रकाश जोशीका अनुसार, विश्वासघात र ठगी गरेको अभियोगमा सन्तोष अधिकारीलाई पक्राउ गरी “आपराधिक विश्वासघात तथा ठगी” मुद्दामा अनुसन्धान अघि बढाइएको छ।