मकवानपुरमा नक्कली सुन प्रकरणमा चार जना पक्राउ
विराटनगर । नक्कली सुनलाई सक्कली भनी ठगी गरेको आरोपमा मकवानपुर प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका–११ सुकुम्वासी टोलस्थित भाडाको कोठाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–२ का ३४ वर्षीय किशोर लामा गोले, बकैया गाउँपालिका–८ का ४५ वर्षीय सूर्यबहादुर नेगी, सोही स्थानका ४४ वर्षीय सेतेलाल गोङवा र नुवाकोट किस्पाङ गाउँपालिका–१ भाल्चेका ४१ वर्षीय नाम्केल तामाङ रहेका छन्।
प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार कोठामा खानतलासी गर्दा झोलाभित्र लुकाइएका ५० थान सुनजस्तो देखिने धातु फेला परेको थियो। परीक्षणका लागि मकवानपुर सुनचाँदी व्यवसायी संघलाई पत्राचार गर्दा तीमध्ये ४९ थान नक्कली र एक थान १० ग्राम मात्र सक्कली सुन भएको पुष्टि भएको हो।
बरामद भएको सक्कली सुनलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ। बाँकी ४९ थान नक्कली धातु सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनामाथि ठगी उद्योग कसुरमा मुद्दा दर्ता गरी म्याद थप गरिएको र विस्तृत अनुसन्धान भइरहेको डीएसपी अर्यालले जानकारी दिएका छन्।