प्रतिबन्धित औषधी र ब्राउन सुगरसहित १२ जना पक्राउ
विराटनगर/ प्रदेश १ का विभिन्न जिल्लाबाट प्रतिबन्धित औषधी र लागुऔषध ब्राउन सुगरसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। भोजपुर, धनकुटा, झापा, मोरङ र सुनसरीका विभिन्न स्थानहरूमा प्रहरीको निगरानीमा गरिएको कारबाहीमा उनीहरू पक्राउ परेका हुन्।
सुनसरीको धरान उप–महानगरपालिका–१३ स्थितमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले ३० वर्षीय मिलन लिम्बुलाई Tramadol का ३ हजार ९० क्याप्सुल, Dicyclomine का ३ हजार ७० ट्याब्लेट र Diazepam का ३० एम्पुलसहित पक्राउ गरेको हो।
त्यसैगरी मोरङको विराटनगर–१५ स्थितमा लागू औषध नियन्त्रण व्यूरो विराटनगरको टोलीले चेकजाँचको क्रममा मोरङ कानेपोखरी–४ का हेमराज बिश्वकर्मा (१९), सुदिप बिश्वकर्मा (१८) र सुनसरी इटहरी–४ का एलेक्स सुबेदी (१९) लाई ब्राउन सुगर ३ ग्राम १ मिलिग्रामसहित पक्राउ गरेको छ।
सुन्दरहरैंचा–३ बाट गोबर्धन गुरुङ (२७), गुलाब चौधरी (२६), शक्ति राई (२५) र बिशाल उराउ (२०) लाई Tramadol का १ हजार ३३० ट्याब्लेट र ब्राउन सुगर १ ग्राम १८ मिलिग्रामसहित पक्राउ गरिएको छ।
झापाको शिवसताक्षी–८ निवासी २७ वर्षीय सुनिल लिम्बु Tramadol का १५० क्याप्सुलसहित र अर्जुनधारा–८ का ३२ वर्षीय अर्जुन राजवंशी ब्राउन सुगर ४ ग्राम ४ मिलिग्राम र ९ एम्पुल निषेधित औषधीसहित पक्राउ परेका छन्।
धनकुटाको छथरजोरपाटी गाउँपालिका–६ मा प्रहरीले २४ वर्षीय दर्पण गुरुङ र ३१ वर्षीय सुदिल लिम्बु लाई ब्राउन सुगर २१० मिलिग्राम र ८ क्याप्सुल औषधीसहित नियन्त्रणमा लिएको छ।
भोजपुरको हतुवागढी गाउँपालिका–९ बाट पनि प्रहरीले ब्राउन सुगर ७५० मिलिग्राम बरामद गरेको छ।
पक्राउ परेकाहरूमाथि लागू औषध तथा प्रतिबन्धित औषधी कारोबार अन्तर्गत मुद्दा चलाइने जनाइएको छ। प्रहरीले लागुऔषधको कारोबार र दुरुपयोगविरुद्ध निगरानी अझ कडा बनाइएको जानकारी दिएको छ।