लागुऔषध ब्राउन सुगर सहित ६ जना प्रहरीको नियन्त्रणमा

विराटनगर/ झापा र मोरङ जिल्लाका विभिन्न स्थानहरूबाट लागुऔषध ब्राउन सुगर सहित ६ जना व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

वैशाख २७ गते झापाको गौरीगंज गाउँपालिका–२ स्थित प्रहरी चौकी कोरोबारीको टोलीले बा.२८ प ५३८४ नम्बरको मोटरसाइकलमा सवार दुई युवालाई नियन्त्रणमा लिएको हो। मोटरसाइकल चालक दमक नगरपालिका–३ का २२ वर्षीय दिपेश बानिया र पछाडि सवार गौरादह नगरपालिका–५ का २२ वर्षीय अभिषेक राईको साथबाट ८९० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

यसैबीच, लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले विराटनगर महानगरपालिका–१६ स्थित सीमा क्षेत्रमा भारतबाट नेपाल प्रवेश गर्दै गरेका मोरङ बेलबारी नगरपालिका–३ का २५ वर्षीय मिलन धिमाललाई २ ग्राम ९८ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

त्यस्तै, सुनसरीको इटहरी उप–महानगरपालिका–१६ का ३६ वर्षीय सुजन बि.क.लाई ७ ग्राम २३ मिलिग्राम, इटहरी–२० का ४० वर्षीय राजकुमार बस्नेत र २३ वर्षीय मदन बुढाथोकीलाई १ ग्राम ४६ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार सबैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। लागुऔषध ओसारपसार तथा प्रयोगमा संलग्नमाथि कानून बमोजिम कारबाही प्रक्रिया थालिने जनाइएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *