भारत–पाकिस्तानबीच मिसाइल आक्रमण, एस–४०० प्रणालीले रोकेको भारतको दाबी
काठमाडौं/ भारत र पाकिस्तानबीच पछिल्ला केही सातादेखि चर्किँदै गएको तनाव बिहीबार राति मिसाइल आक्रमणमा परिणत भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुई देशबीच जम्मु कश्मिर आसपासका सीमावर्ती क्षेत्रमा मिसाइल हानाहान भएको पुष्टि गरिएको छ।
भारतले पाकिस्तानको आक्रमण प्रयासलाई आफ्नो एस–४०० एयर डिफेन्स मिसाइल प्रणालीमार्फत असफल बनाएको दाबी गरेको छ। ‘हिन्दुस्तान टाइम्स’ले जनाएअनुसार, भारतीय सेनाले जम्मु नजिकै पाकिस्तानको एफ–१६ लडाकु विमान खसाल्न सफल भएको छ।
पाकिस्तानी सेनाले जम्मु, पठानकोट र उधमपुरस्थित भारतीय सैन्य ब्यारेकहरूमा आक्रमण गरेको जनाइएको छ। तर ती सबै आक्रमण असफल पारिएको भारतको रक्षा मन्त्रालयले जनाएको छ। भारतले समेत जम्मु कश्मिरको साम्बा, केरन, तंगधार, करनाह, अखनुर, आरएसपुरा, अरनिया लगायतका सीमावर्ती क्षेत्रमा प्रतिआक्रमण गरेको छ। जम्मु विमानस्थल नजिकै पनि विष्फोटको आवाज सुनिएको रिपोर्ट गरिएको छ।
हालसम्म क्षतिको विस्तृत विवरण सार्वजनिक गरिएको छैन। यस आक्रमणलाई भारतले कश्मिरको पहलगाम क्षेत्रमा आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएपछि गरिएको जवाफी कारवाहीको रूपमा ब्याख्या गरेको छ। भारतले मंगलबार रातिदेखि पाकिस्तानको भूमिमा हवाई आक्रमण सुरु गरेको थियो।
क्षेत्रीय तनाव चुलिँदै गएसँगै सुरक्षामा उच्च सतर्कता अपनाइएको छ। दुवै देशका सरकारहरूबाट औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।