September 20, 2025
आइतबार लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने, सुतक नलाग्ने
विराटनगर । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी असोज ५ गते (आइतबार) लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको कुनै सुतक नलाग्ने जनाएको छ।
आश्विन कृष्ण औँसीका दिन आइतबार सूर्यग्रहण लाग्ने भए पनि नेपालका वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले सुतक बस्नुपर्ने वा श्राद्ध गर्ने–नगर्ने भन्ने प्रश्न उठाएका थिए। समितिका सदस्य तथा धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार, नेपाली आकाशमा नदेखिने ग्रहण बार्नु नपर्ने शास्त्रीय वचन रहेको हुँदा कुनै दोष लाग्ने छैन।
“नेपालबाट नदेखिने ग्रहणको प्रभाव नेपालीमाथि पर्दैन, त्यसैले सुतक नलाग्ने र श्राद्ध कार्यमा कुनै अवरोध नहुने छ,” भट्टराईले स्पष्ट पारे।
उक्त सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा, अन्टार्टिकालगायत देशहरूबाट मात्र देखिने जनाइएको छ।