‘ऊनको स्वीटर’ ले पायो दर्शकको उल्लेखनीय साथ, शो संख्या बढ्दै
विराटनगर/ शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आएको नेपाली सिनेमा ‘ऊनको स्वीटर’ ले दर्शकको उल्लेखनीय साथ पाइरहेको छ। रिलिजको तेस्रो दिन आइतबारसम्म देशभर दैनिक ३ सयभन्दा बढी शो प्रदर्शन भइरहेको छ भने माग दिनप्रतिदिन बढ्दो क्रममा छ।
वितरक गोविन्द शाहीका अनुसार आइतबार देखिएको उत्साहजनक व्यापार र सोमबार बुद्ध जयन्तीको सार्वजनिक बिदालाई ध्यानमा राख्दै सिनेमाको शो संख्या थप गरिएको हो। चौथो दिन सोमबारका लागि अझ धेरै शो थपिएसँगै ‘ऊनको स्वीटर’ को व्यापार अझ आक्रामक हुने अपेक्षा गरिएको छ।
यसैबीच, आइतबार सार्वजनिक गरिएको सिनेमाको ट्रेलर युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ। ट्रेलरले हालसम्म १२ लाख भ्युज, ३२ हजार लाइक र २ हजारभन्दा बढी प्रतिक्रिया प्राप्त गर्दै सकारात्मक चर्चा बटुलिरहेको छ।
विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रहेको यस सिनेमाले रिलिजदेखि नै राम्रो दर्शक साथ पाएको छ। ट्रेलर, टिजर र गीतहरूले दर्शकमा उत्साह थप बढाइरहेका छन्। ‘ऊनको स्वीटर’ को लेखन तथा निर्देशन नवीन चौहानले गरेका हुन्।
रिलिजको तेस्रो दिन आइतबार सार्वजनिक भएको नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ ले पनि दर्शकको ध्यान खिचिरहेको छ। दिलीप रायमाझी र निरुता सिंहलाई समर्पित यो गीतमा सुजन चापागाईँ र सलिना बिकको स्वर रहेको छ भने एलेक्स पारस र परीक्षा लिम्बुको अभिनय देख्न सकिन्छ।