विराटनगरको होटलमा तीन प्रहरी निरीक्षकबीच झगडा, सुरक्षाकर्मी घाइते

विराटनगर / विराटनगरस्थित एक होटलमा तीन जना बहालवाला प्रहरी निरीक्षकबीच हात हालाहाल भएको घटना सार्वजनिक भएको छ। घटना एक साता अघि साँझ खानपिनको क्रममा भएको हो।
प्राप्त जानकारी अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका निरीक्षक राजन लम्साल, जिल्ला प्रहरी कार्यालय मोरङका निरीक्षक सरोज खनाल र इलाका प्रहरी कार्यालय रङ्गेलीका निरीक्षक सन्तोष खडका होटलमा भेटघाट तथा मदिरा सेवनका लागि भेला भएका थिए। मदिरा सेवनपछिको भनाभनले झगडाको रूप लिएपछि निरीक्षक लम्सालले खनाल र खडकामाथि हातपात गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

झगडाको अवस्था नियन्त्रणबाहिर जान थालेपछि निरीक्षक खनालले जिल्ला प्रहरी कार्यालयबाट थप युनिट बोलाएका थिए। तर, स्थिति नियन्त्रण गर्न आएका सुरक्षाकर्मीमाथि समेत लम्सालले आक्रमण गरेको खबर छ। यस क्रममा अन्य केही सुरक्षाकर्मीसमेत घाइते भएका छन्।
घटना प्रहरी संगठनभित्रको भएको भन्दै जानकारी सार्वजनिक नगरिने प्रयास भएको आशंका गरिएको छ। अनुशासनहिन व्यवहार देखाएका प्रहरी निरीक्षकहरूलाई कारबाही गर्नुको साटो घटना गुपचुप राखिएको भन्दै सुरक्षा निकायभित्र नै आलोचना भइरहेको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *