गृहमन्त्रीको निर्देशनपछि रानी नाकाका डिएसपी तानिए, अमर खत्रीको नयाँ जिम्मेवारी
विराटनगर । गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशको सीमा क्षेत्रमा तस्करी नियन्त्रणमा कडाइ गर्न निर्देशन दिएपछि सशस्त्र प्रहरी बलले तत्काल कारबाही थालेको छ। सोही क्रममा रानी नाकामा खटिएका डिएसपी ऋषिकेश राउतलाई फिर्ता बोलाई नयाँ डिएसपी अमर खत्रीलाई पठाइएको छ।
वैशाख ३१ गते विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रमा गृहमन्त्री लेखकले तस्करी नियन्त्रणका लागि ३० दिनको समयसिमा तोक्दै निर्देशन दिएका थिए। उनले सीमा क्षेत्रमा तस्करी बढेकोप्रति असन्तुष्टि जनाउँदै तत्काल सुधारको माग गरेका थिए।
गृहमन्त्रीको गुनासोपछि सशस्त्र प्रहरी बलले रानी नाकाको समग्र सुरक्षा गतिविधिमा सुधार ल्याउन डिएसपी राउतलाई फिर्ता बोलाएको हो। नं. १ बराह बाहिनीका प्रमुख डिआइजी कुमार न्यौपानेले “काम कारबाही सन्तोषजनक नभएको” भन्दै राउतलाई तानेर नयाँ नेतृत्वका रूपमा डिएसपी अमर खत्रीलाई पठाइएको जानकारी दिए।
सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्यालले केही समयअघि मात्र कमाण्डमा कार्यरत बाहिनीपति तथा अन्य उच्च अधिकारीहरूलाई परिणाममुखी काम गर्न चेतावनी दिएका थिए। उनले मातहत कर्मचारीको कमजोरीको जिम्मेवारी सम्बन्धित कमाण्ड प्रमुखलाई दिने स्पष्ट संकेत गर्दै कार्यसम्पादन कमजोर देखिएमा स्थानान्तरण, फिर्ता वा अन्य कारबाही गरिने बताएका थिए।
उनले स्थायी कार्यालयहरू—बाहिनी, गण, गुल्म—को प्रत्येक तीन महिनामा पुनरावलोकन गरिने र नतिजा असन्तोषजनक देखिएमा नेतृत्वमा हेरफेर गरिने नीति पनि स्पष्ट पारेका थिए।
रानी नाकामा सशस्त्र प्रहरीको सक्रियता बढाउन र सीमा क्षेत्रलाई थप सुरक्षित बनाउन नयाँ डिएसपीको जिम्मेवारीलाई महत्वपूर्ण मानिएको छ।