मधेसमा सातदलीय धर्ना : मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिको विरोध
बिराटनगर। मधेस प्रदेशमा नयाँ राजनीतिक तनाव उत्पन्न भएको छ। प्रदेश प्रमुखले नेकपा (एमाले)का सरोजकुमार यादवलाई बर्दिबासको एक होटलमा रातारात मुख्यमन्त्री नियुक्त गरेपछि सातदलीय गठबन्धनका सांसदहरू विरोधमा उत्रिएका छन्।
नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले सोमबारदेखि मधेस भवन अगाडि धर्ना दिएका हुन्। उनीहरूले यादवको नियुक्ति असंवैधानिक र जनमतको अपमान रहेको आरोप लगाएका छन्।
धर्नामा बसेका सांसद र कार्यकर्ताहरूलाई मधेस भवनभित्र प्रवेश गर्न नदिएपछि उनीहरूले मुख्य गेटमै टायर बालेर विरोध प्रदर्शन गरेका छन्। बिहानैदेखि प्रदर्शन सुरु भएको र त्यस क्रममा आवतजावत समेत अवरुद्ध भएको जनाइएको छ।
यसबीच, मधेस भवन परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। आन्दोलनकारीहरूले प्रदेश प्रमुखको कदम फिर्ता लिन माग गर्दै विरोध जारी राखेका छन्।
उता, एमाले, राप्रपा र संघीय समाजवादी पार्टी भने आन्दोलनबाट बाहिर रहेका छन्। उनीहरूले मुख्यमन्त्री यादवको नियुक्ति संविधानअनुसार भएको दाबी गरेका छन्।
मधेस प्रदेशको राजनीतिक संकट थप गहिरिँदै गएसँगै सरकार सञ्चालनमा अनिश्चितता उत्पन्न भएको छ।
