धुलिखेलमा बिजुलीको खम्बामा काम गर्ने मजदुरको करेन्ट लागेर मृत्यु

विराटनगर / काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ मा आज बिहान विद्युत्को खम्बामा काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।

नेपाल विद्युत् प्राधिकरणमार्फत वितरण केन्द्रद्वारा विस्तार भइरहेको लाइनमा काम गरिरहेका सर्लाही ईश्वरपुर नगरपालिका–१२, घारीबथाका २८ वर्षीय उपेश परियारको ११ हजार भोल्टको हाइटेन्सन लाइनबाट करेन्ट लाग्दा ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बिहान ११:३० बजे जिल्ला प्रशासन कार्यालय अगाडिको खम्बामा तार जोड्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरको नेतृत्वमा टोली खटाइएको छ। प्रारम्भिक जानकारी अनुसार विद्युत् प्राधिकरणले सूचनाविना नै लाइन सञ्चालन गर्दा करेन्ट लागेको जनाइएको छ।

यसअघि विद्युत् प्राधिकरण काभ्रेपलाञ्चोक वितरण केन्द्र बनेपाले एक सूचना जारी गर्दै ११ केभी लाइन चार्ज गरिने भएकाले सावधानी अपनाउन सार्वजनिक आग्रह गरेको थियो।

मृतक परियारको शवलाई खम्बाबाट निकालेर पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *