झापा र सुनसरीमा लागूऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ
विराटनगर। झापा र सुनसरी जिल्लाबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ। प्रहरीले जेष्ठ ३ गते विभिन्न स्थानमा चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
झापाको बिर्तामोड नगरपालिका–४ का २६ वर्षीय संजोग लिम्बुलाई इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको टोलीले ६६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
त्यस्तै, इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको टोलीले दमक नगरपालिका–३ का १९ वर्षीय मिङ्सो लिम्बुलाई ९ ग्राम ३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
यसैगरी, सुनसरीको धरान उपमहानगरपालिका–१ का २६ वर्षीय रुस्तम राई र धरान–१३ की भावना गुरुङलाई धरानस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ४९० मिलिग्राम ब्राउन सुगर र नगद ३८ हजार ८ सय रुपैयाँसहित नियन्त्रणमा लिएको छ।
पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा राखिएको छ।