ब्राउन सुगरसहित ७ जना पक्राउ

विराटनगर ।सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगरसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरो विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले असार १३ गते चेकजाँचको क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार धरान उपमहानगरपालिका–११ का १९ वर्षीय सुवन तामाङ, २७ वर्षीय मिसन राई, धरान–१५ का ३२ वर्षीय रोमन शाही, २५ वर्षीय अरुण मण्डल, ३० वर्षीय सागर तामाङ, ३१ वर्षीय प्रस्ताव राई र सप्तरी हनुमाननगरका २४ वर्षीय आकाश मण्डल पक्राउ परेका हुन्।

पक्राउ परेकाहरूको साथबाट कूल २१ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। त्यस्तै, कोशी गाउँपालिका–८ बाट २ ग्राम ५० मिलिग्राम ब्राउन सुगरसहित आकाश मण्डललाई इलाका प्रहरी कार्यालय भण्टाबारीले नियन्त्रणमा लिएको हो।

लागू औषध ओसारपोसारमा प्रयोग भएका दुई थान सवारी साधन समेत प्रहरीले बरामद गरेको छ।
पक्राउ परेकाहरूविरुद्ध लागू औषध सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।