वडाध्यक्षमाथि कुनै दुव्र्यवहार गरेको छैन, एमालेको आरोप कपोकल्पित र भ्रामक
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीले वडाध्यक्ष यादव खतिवडामाथि कुनै पनि प्रकारको दुव्र्यवहार नगरेको स्पष्ट पारेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मोरङद्वारा शनिबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तीप्रति कडा आपत्ति जनाउँदै अध्यक्ष माझीले उक्त आरोप ‘भ्रामक, कपोकल्पित र आपत्तिजनक’ भएको बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै उनले आफूले कसैलाई ज्यान मार्ने धम्की नदिएको र कुनै गालीगलौज नगरेको दाबी गरेका हुन् ।
‘जेठ ३ गते एमाले ग्रामथान गाउँसमितिको भ्रामक र कपोकल्पित प्रेस विज्ञप्तिप्रति गम्भीर आपत्ति जनाउँदै वास्तविकता बाहिर ल्याइएको हो,’ माझीले लेखेका छन् ।
भएको के थियो ?
ग्रामथान गाउँपालिका वडा नं. २ स्थित झोराहाट प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य कार्यालय मोरङको आयोजनामा वैशाख ३० र ३१ गते ‘आधारभूत अस्पताल सेवा मापदण्ड (ःक्क्)’ विषयक दुईदिने तालिम आयोजना गरिएको थियो ।
कार्यक्रमको उद्घाटन अध्यक्ष माझीले गरेका थिए भने समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा पुनः उपस्थित भएका थिए । कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष यादव खतिवडाले गरेका थिए ।
समापन सत्रको समयमा केही सेवाग्राही तथा स्थानीय व्यक्तिहरूले तालिम हलमा प्रवेश गरी गाउँपालिकाको आर्थिक प्रशासन शाखामा ताला लगाउने प्रयास गर्दा विवाद उत्पन्न भएको थियो । वडाध्यक्षसँग ताल्चाको चाबी माग्दै विवाद चर्किएको थियो ।
प्राथामिक स्वास्थ्य केन्द्र झाराहाटले जारी गरेको सूचना अनुसार, अध्यक्ष माझीले समयमै हस्तक्षेप गर्दै विवाद नियन्त्रणमा लिएका थिए र उपस्थित व्यक्तिहरूलाई शान्तिपूर्वक हलबाट बाहिर जान अनुरोध गरेका थिए । परिस्थितिको गम्भीरता हेरेर उनले तत्काल कार्यक्रम स्थगित गर्न मौखिक निर्देशन पनि दिएका थिए ।
झोराहाट प्राथमिक स्वास्थ्य केन्द्रले आइतबार सार्वजनिक सूचना जारी गर्दै कार्यक्रमका क्रममा उत्पन्न विवादमा गाउँपालिका अध्यक्ष माझीले संयमित ढंगले काम गरेको र कार्यक्रम स्थगित गरेर स्थान छाडेको जानकारी दिएको छ ।
अध्यक्ष माझी स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । पछिल्लो विवादलाई कतिपयले राजनीतिक प्रतिस्पर्धासँग जोडेर हेरिरहेका छन् ।