May 19, 2025
मोरङमा मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा प्रहरी नियन्त्रणमा
विराटनगर / मोरङ जिल्लाको रतुवामाई नगरपालिका–६ त्रिवेणी चोकमा आइतबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।
दुर्घटनामा रतुवामाई नगरपालिका–५ निवासी ४५ वर्षीया भवानी मेहताको ज्यान गएको हो। उनी छोरा रमेश मेहताको चलाएको प्रदेश १–०२–०४५ प ९०६० नम्बरको मोटरसाइकलको पछाडि सवार थिइन्।
प्रहरीका अनुसार, मोटरसाइकल आमबारीबाट उर्लाबारीतर्फ जाँदै गर्दा त्रिवेणी चोकमा कुकुरलाई जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
गम्भीर घाइते भएकी मेहतालाई तत्कालै उपचारका लागि रंगेली अस्पताल पुर्याइएको थियो। तर, साँझ ७ः१० बजेतिर अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक २३ वर्षीय रमेश मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।