सगरमाथाको सफल आरोहण गर्दै लैंगिक हिंसा विरुद्धको सन्देश : प्रहरी असई कुन्जाङ छोपेल शेर्पा
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले आज बिहान ८:५६ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी छन्।
नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै गरिएको यस ऐतिहासिक आरोहणको क्रममा असई शेर्पाले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झन्डा, नेपाल प्रहरीको झन्डा तथा “लैंगिक हिंसा विरुद्धको” नारा अंकित ब्यानर फहराएकी थिइन्।
प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाबाट प्राप्त निर्देशन तथा शुभकामनासहित २५ चैतमा झन्डा हस्तान्तरण गरिएको थियो। त्यसपछिको २८ चैतमा शेर्पासहितको आरोहण दल काठमाडौंबाट सगरमाथाको दिशामा प्रस्थान गरेको थियो।
यसअघि नेपाल प्रहरीबाट पहिलोपटक वरिष्ठ नायव निरीक्षक (सनि) पुरूषोत्तम नेपालीले २ जेठ २०८० मा सगरमाथा आरोहण गरेका थिए।
नेपाल प्रहरीले विगतमा सगरमाथा सरसफाइ अभियान लगायत विभिन्न हिमालहरूको सफल आरोहण गरेको स्मरण गर्दै, यस्ता प्रेरणादायी तथा साहसिक कार्यहरूलाई भविष्यमा निरन्तरता दिने विश्वास व्यक्त गरेको छ।
सगरमाथाको सफल आरोहणमार्फत असई शेर्पाले राष्ट्र, संस्था तथा लैंगिक समानताको सन्देश एकैसाथ विश्वभर पुर्याएकी छन्।