देशभर मनसुनको प्रभाव, कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

विराटनगर । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकोले अधिकांश भू–भागमा बदली मौसमको अवस्था देखिएको छ।

मंगलबार दिनभर देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै, बाँकी भू–भागका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्ने सम्भावना छ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। भारी वर्षाका कारण सतर्कता अपनाउन आग्रह गरिएको छ।

रातिको समय पनि मौसम लगभग उस्तै रहने पूर्वानुमान गरिएको छ। मंगलबार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसमविद्हरूले सम्भावित वर्षाले नदीहरूको बहाव बढ्न सक्ने र पहिरोको जोखिम रहन सक्ने भएकाले सतर्कता अपनाउन सबैलाई सुझाव दिएका छन्। यात्रुहरू, किसान, स्थानीय प्रशासन र सम्बन्धित निकायहरूलाई आवश्यक सतर्कता र तयारी रहन महाशाखाले आग्रह गरेको छ।