धनपालथानमा बृहत स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

मोरङ / मोरङको धनपालथान गाउँपालिका–३, सोराभागस्थित शिवशक्ति माध्यमिक विद्यालयको प्राङ्गणमा गणेशमान सिंह फाउण्डेशन र लायन्स क्लब अफ बिराटनगरको संयुक्त आयोजनामा बृहत स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता फाउण्डेशनका अध्यक्ष फुलकुमार लालबानीले गरेका थिए भने स्वास्थ्य मन्त्री प्रदीप पौडेल प्रमुख अतिथि थिए। कोशी प्रदेशका सांसद अमृतकुमार अर्याल, गयानन्द मण्डल, डोल्मा तामाङ, धनपालथान गापा अध्यक्ष जिवछ गच्छदार, उपाध्यक्ष नसिमा बानो, जहदा गापा अध्यक्ष जितेन्द्रप्रसाद साह, लायन्स क्लब अफ बिराटनगरका अध्यक्ष निर्मल दाहाल, रेडक्रस मोरङ अध्यक्ष सुकदेव मण्डल लगायत स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, युवा क्लबका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सरकारले अब निजि क्षेत्रसँग सहकार्य गर्दै यस्ता स्वास्थ्य शिविरलाई प्रोत्साहन गर्ने बताएका छन्। “सरकारी अस्पतालका माध्यमबाट मात्र नभई, निजी क्षेत्रको साझेदारीमा यस्ता शिविर आयोजना गरेर नागरिकको स्वास्थ्य सुदृढ बनाउन जरुरी छ,” उनले भने।

मन्त्री पौडेलले आगामी बजेटमा स्वास्थ्य बीमालाई थप व्यवस्थित बनाउने तयारी भइरहेको उल्लेख गर्दै स्वास्थ्य सेवाको पहुँच र प्रभावकारिता सुधार गर्ने प्रतिबद्धता जनाए। उनले थपे, “स्वास्थ्य शिविरले नागरिकको स्वास्थ्य अवस्था बुझ्न र जटिल रोगको पहिचान गरी समयमै उपचार सम्भव गराउन सघाउँछ।”

उनले छ्य रोग (टीबी) उन्मूलन भएको भनिए पनि देशका विभिन्न भागमा अझै जटिल रूपमा विद्यमान रहेको उल्लेख गर्दै १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार, केमोथेरापी सेवा, मुटु रोग सेवा लगायतका क्षेत्रमा सरकारले निःशुल्क सेवा विस्तार गरिरहेको जानकारी दिए।

स्वास्थ्य शिविरमा बिराटनगरस्थित न्यूरो कार्डियो एन्ड मल्टिस्पेसियलिटी हस्पिटलका विशेषज्ञ चिकित्सकहरूद्वारा न्युरो, हाडजोर्नी, फिजिसियन, ग्यास्ट्रो, यूरोलोजी, नवजात तथा बालरोग, डेन्टल, छाला, नेत्र, मानसिक रोग, सामान्य शल्यक्रिया, प्याथोलोजी र फिजियोथेरापी लगायतका सेवा प्रदान गरिएको आयोजकले जनाएका छन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *