मोरङ कारागारमा सुनवर्षीका एक जना कैदीको मृत्यु

विराटनगर । मोरङस्थित जिल्ला कारागारमा सजाय भुक्तान गरिरहेका एक कैदीको मंगलबार साँझ मृत्यु भएको छ। मृतक मोरङको सुनवर्षी नगरपालिका–२ निवासी २४ वर्षीय उमेश दर्जी रहेका छन्।

कारागारका जेलर गौरव ढुंगेलका अनुसार लागुऔषध मुद्दामा दोषी ठहर भई कैद सजाय भोगिरहेका दर्जीको बिराट शिक्षण अस्पताल, बुढीगंगामा उपचारकै क्रममा साँझ ७:५० बजे निधन भएको हो।

ज्वरो आउने र खुट्टा सुन्निने समस्या देखिएपछि उनलाई जेठ ३० गते कोशी अस्पताल भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि असार ३ गते थप उपचारका लागि विराट शिक्षण अस्पतालमा सारिएको थियो। तर, लामो समय उपचाररत रहँदा पनि स्वास्थ्यमा सुधार नआएपछि मृत्यु भएको कारागार प्रशासनले जानकारी दिएको छ।

दर्जीलाई जिल्ला अदालत मोरङले ५ वर्ष २ महिना कैद र ७ हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो। उनी २०८१ पुस ४ गतेदेखि कारागारमा थुनामा थिए।

जेल प्रशासनका अनुसार मृतकको शव परिवारलाई बुझाउने प्रक्रिया अघि बढाइएको छ। पछिल्लो समयमा मोरङ कारागारमा कैदीबन्दीको मृत्यु हुने क्रम बढ्दो रहेको कारागार स्रोतले जनाएको छ।