‘नरसिंहा अवतार’ आज कोशी प्रदेश यात्रामा – कलाकारसँग प्रत्यक्ष भेटघाटको अवसर

विराटनगर/ प्रदर्शनको चौथो दिनमै देशव्यापी चर्चा कमाउन सफल नेपाली सिनेमा ‘नरसिंहा अवतार’ अब पूर्वी नेपालतर्फको यात्रामा निस्केका छन् । राजधानीका हलहरूमा उल्लेखनीय सफलता प्राप्त गरिरहेको यो सिनेमा अब कोशी प्रदेशका पाँच प्रमुख शहरहरू – विराटनगर, इटहरी, धरान, दमक र विर्तामोड का दर्शकमाझ प्रत्यक्ष रूपमै पुग्नेछ।

जेठ १२ गते सोमबार, सिनेमाका प्रमुख कलाकार र निर्माण टिमको टोली कोशी प्रदेश भ्रमणमा निस्केका हुन् । भ्रमण टोलीमा वरिष्ठ अभिनेता राजेश हमाल, निर्माता नरेन्द्र महर्जन, वितरक छविराज ओझा, अभिनेता राज कटवाल, र अभिनेत्री सनिषा भट्टराई सहभागी हुनेछन्। उनीहरूले सिनेमाको प्रचारप्रसारका क्रममा विभिन्न हलहरूमा पुगेर दर्शकहरूसँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्ने कार्यक्रम तय गरिएको छ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको यो सिनेमामा राजेश हमाल, राज कटवाल, नीति शाह, नीर शाह, प्रशान्त ताम्राकार, सनिषा भट्टराई, उषा खड्गी, दीपा शाही, राजीव जंग बस्नेत, रमेश चन्द सोडारी, एभिलिना खड्का, र समाइरा थापाको अभिनय रहेको छ।

पूर्वी दर्शकहरूका लागि यो भ्रमण विशेष बन्ने अपेक्षा गरिएको छ, किनकि दर्शकहरूले न केवल सिनेमा हेर्ने मौका पाउने छन्, तर आफ्ना मनपर्ने कलाकारहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर पनि पाउनेछन्।

सिनेमाले समसामयिक सामाजिक सन्देशसहितको रोचक प्रस्तुति दिएका कारणले मुलुकभर दर्शकको ध्यान तान्न सफल भएको छ। अब कोशी प्रदेशमा यसको उत्साह थप बढ्ने अनुमान गरिएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *