विराटनगरमा गणतन्त्र दिवसको अवसरमा भव्य कन्सर्टको आयोजना हुने

विराटनगर/ कोशी प्रदेश सरकार अन्तर्गत गणतन्त्र दिवस मुल समारोह समिति र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सहकार्यमा आगामी गणतन्त्र दिवसको अवसरमा विराटनगरमा विशेष सांस्कृतिक कन्सर्टको आयोजना हुने भएको छ।

गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने उद्देश्यसहित यो कार्यक्रम आयोजना गर्न लागिएको हो। प्रदेश सरकारले विशेषगरी किशोर, किशोरी तथा युवापुस्तालाई लक्षित गर्दै गणतन्त्रप्रतिको सकारात्मक सोच र भावना विकास गर्न सांस्कृतिक कार्यक्रमको माध्यम रोजेको जनाएको छ।

जनआन्दोलन चोकमा आयोजना हुने कन्सर्टमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरूले राष्ट्रप्रेम झल्किने गीतमार्फत दर्शकलाई मन्त्रमुग्ध पार्ने छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार कार्यक्रमको संयोजन कार्य अन्तिम चरणमा पुगेको छ।

कन्सर्टमा गायिका रचना रिमाल, गायक सुमित खड्का, अन्जु गौतम, मञ्जु गौतमलगायत कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। तीन दिनसम्म विविध कार्यक्रमहरू आयोजना गर्दै गणतन्त्र दिवस भव्य रूपमा मनाउने तयारी प्रदेश सरकारले गरेको छ।

कार्यक्रमहरूमा दीपावली, अन्तरक्रिया, पत्रकार सम्मानजस्ता विविध कार्यक्रम समावेश हुने छन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *