नर सेवा–नारायण सेवा परिवार”ले विराटनगरमा निःशुल्क दिवाभोजन महाप्रसाद सेवाको दुई वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश
विराटनगर । “नर सेवा–नारायण सेवा परिवार” विराटनगरले आफ्नो समाजसेवी अभियान अन्तर्गत कोशी अञ्चल अस्पतालमा सञ्चालन गर्दै आएको निःशुल्क “दिवाभोजन महाप्रसाद सेवा” दुई वर्ष (७३०) दिन पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ।
संस्थाका संस्थापक अध्यक्ष श्री पृथ्वीकुमार अग्रवाल (देवेन्द्र)को नेतृत्वमा सञ्चालन हुँदै आएको यो सेवामूलक अभियान २०८० साल असोज २८ गते घटस्थापनाका दिन आरम्भ गरिएको थियो। “अन्नपूर्णा रसोई” अन्तर्गत सञ्चालन हुने यस “दिवाभोजन महाप्रसाद” सेवामा दैनिक अस्पतालमा उपचारका लागि आएका कुरुवाहरूलाई निःशुल्क भोजन वितरण गरिँदै आएको छ।
संस्थापक सदस्यहरूमा श्री देवकीनन्दन अग्रवाल, श्री विजय गोयल, श्री सन्तोष कुमार अग्रवाल, श्री रतनलाल अग्रवाल, श्री संजय कुमार अग्रवाल, Women’s Creation Family, श्री पवन कुमार अग्रवाल, श्री अशोक कुमार झुनझुनवाला, श्री देशबन्धु झा, श्री अनिल कुमार अग्रवाल, श्री विजय तोदी, श्री राजेन्द्र प्रसाद अग्रवाल, श्री दामोदर माधोगडिया र श्री जानकी वल्लभ मारु रहेका छन्।
त्यसैगरी विशिष्ट सदस्यहरूमा श्री मनोज कुमार अग्रवाल र श्री प्रदीप कुमार चचानदेश छन्।
“भोकालाई भोजन, प्यासालाई पानी” भन्ने मूल नाराका साथ सेवा नै परम धर्म हो भन्ने भावनाबाट प्रेरित यो परिवारले समाजसेवामा निरन्तर सक्रियता देखाउँदै आएको छ।
दुई वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष अग्रवालले मातृ अन्नपूर्णा, माता महालक्ष्मी र नारायणप्रभुको असीम कृपाले सेवा कार्य निरन्तर भइरहेको बताउँदै आगामी दिनमा अझ सुव्यवस्थित रूपमा यो अभियानलाई अगाडि बढाउने प्रतिबद्धता जनाए।
सो अवसरमा अस्पतालमा आएका करिब ५०० जना कुरुवाहरुलाई खिर, पुरी, तरकारी, अचार र सलाद सहितको भोजन गराइएको थियो। कार्यक्रममा कोशी अञ्चल अस्पतालकी डा. रुना झाले कार्यक्रमको उद्घाटन गरेकी थिइन्।
संस्थाका पदाधिकारीहरूले समाजको निरन्तर समर्थन र सहयोग रहने विश्वास व्यक्त गर्दै “सेवा नै धर्म हो” भन्ने मूल भावनासहित आगामी दिनमा अझ धेरै समाजोपयोगी कार्य गर्ने प्रतिज्ञा व्यक्त गरेका छन्।