बम काण्डमा दोषी ठहरिएका कांग्रेस नेता मोहम्मद आफताब आलम उच्च अदालतबाट सफाइ पाए
विराटनगर/ उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई बहुचर्चित राजपुर बम काण्डसम्बन्धी अभियोगबाट सफाइ दिएको छ। अदालतले दोष पुष्टि हुन नसकेको भन्दै आलमसहित चार जनालाई सफाइ दिएको हो।
न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले बुधबार आलमसहित उनका भाइ मोहम्मद महताव आलम, शेख सरोज (उर्फ शेख सेरोज) र बद्री सहनीलाई सफाइ दिएको हो।
उच्च अदालतको फैसलापछि नख्खु कारागारबाट मोहम्मद आफताब आलम छुटेका छन्। उनलाई लिन नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिना नख्खु जेल पुगेका थिए। जेलर भीमराज कोइरालाका अनुसार अदालतको पत्र पुगेपछि आलमलाई रिहा गरिएको हो।
यसअघि जिल्ला अदालत रौतहटले आलमलाई संविधानसभा निर्वाचन (२०६४ चैत २८) को अघिल्लो दिन राजपुरमा भएको बम विस्फोट तथा त्यसपछिको घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।
घटनाको अनुसन्धानका क्रममा आलममाथि बम विस्फोटमा परेर घाइते र मृत भएका व्यक्तिहरूलाई ट्रयाक्टरमा राखी इँटाभट्टामा जलाएर प्रमाण नष्ट गर्न निर्देशन दिएको आरोप लागेको थियो। उनीमाथि विस्फोटक पदार्थ प्रयोग, ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानको अभियोग लगाइएको थियो।
उच्च अदालत जनकपुर वीरगञ्ज इजलासका रजिस्ट्रार दीपक भण्डारीका अनुसार अदालतले घटनाको वरदात पुष्टि हुन नसकेको ठहर गर्दै जिल्ला अदालतको फैसला उल्टाएको हो।
यस फैसलासँगै लामो समयदेखि चर्चामा रहेको राजपुर बम काण्ड नयाँ मोडमा पुगेको छ।