May 29, 2025
भारतीय नम्बरको स्कार्पियोबाट ४ किलोभन्दा बढी गाँजा बरामद
सुनसरी ।सुनसरी जिल्लाको दुहबी नगरपालिका–११ स्थित क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा बिहान ३ बजे गरिएको चेकजाँचका क्रममा भारतीय नम्बर प्लेट रहेको स्कार्पियो गाडी (WB 06 H 2858) बाट ४ किलो ३८ ग्राम गाँजा बरामद गरिएको हो।
इलाका प्रहरी कार्यालय दुहबी, प्रहरी चौकी तनमुना र प्रहरी चौकी रामगंज वेलगछियाबाट खटिएको संयुक्त टोलीले उक्त गाडी चेकजाँच गर्दा प्लास्टिकको पोका बनाइ लोड गरिएको अवस्थामा १४ पोका गाँजा फेला पारेको जनाइएको छ।
प्रहरीका अनुसार, लागुऔषध ओसारपसारमा प्रयोग भएको गाडी भारतीय नम्बरको रहेकाले यसमा संलग्न चालकको खोजी कार्य तीव्र रूपमा अगाडि बढाइएको छ। घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।