विराटनगर ८ बलुवाहीमा रमणीय पार्क निर्माण हुने, गणतन्त्र दिवसमा शिलान्यास सम्पन्न
विराटनगर/ विराटनगर महानगरपालिका–८ स्थित बलुवाहीमा रमणीय पार्क निर्माण गरिने भएको छ। सामाजिक अभियन्ता तथा विराटेश्वर वृद्धाश्रमका अध्यक्ष ८४ वर्षीय जगतप्रसाद अज्र्यालको पहलमा पार्क निर्माण प्रक्रिया सुरु गरिएको हो।
गणतन्त्र दिवसको अवसर पारेर आज पार्कको शिलान्यास गरिएको छ। वडा नं. ८ का वडाध्यक्ष राम पोखरेलले शिलान्यास गरेका हुन्। शिलान्यास कार्यक्रममा अध्यक्ष अज्र्याल, उपाध्यक्ष उमा रेग्मी, टंकप्रसाद गौतम लगायत स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
करिब २ विगाहा ८ कठ्ठा क्षेत्रफलमा फैलिएको पार्कका लागि टिकाराज ढकालले सहुलियत दरमा जमिन उपलब्ध गराउने घोषणा गरेका छन्। तीमध्ये १४ कठ्ठा जमिन अध्यक्ष अज्र्यालले पहिल्यै बैना गरिसकेको जानकारी दिइएको छ। बाँकी जमिन खरिदका लागि सहयोगी दाताहरूको खोजी भइरहेको छ।
“विराटनगरमा एक जना वृद्धको सपना अब सामूहिक प्रयासद्वारा साकार पारिनेछ,” अध्यक्ष अज्र्यालले भने। वृद्धाश्रमको अभियान पूरा भएसँगै उनले अब दैनिक एक रुपैयाँ संकलन गरेर पार्क निर्माणको अभियान थालेको बताए।
वडा कार्यालयले पनि पार्क विस्तारमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। “पार्क आसपासका ऐलानी जमिनको व्यवस्थापनमा वडा कार्यालय सहजीकरण गर्नेछ,” वडाध्यक्ष पोखरेलले बताए। उनले पार्क निर्माणमा वडा कार्यालयको हातेमालो रहने स्पष्ट पारे।
यो पहल विराटनगरमा हरित वातावरण र सार्वजनिक विश्रामस्थल अभाव हटाउने दिशातर्फको महत्वपूर्ण कदम मानिएको छ।