सुनवर्षी नगरपालिकाद्वारा ६७ करोड १३ लाख बजेट सार्वजनिक

सुनवर्षी । सुनवर्षी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६७ करोड १३ लाख २२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार नगरपालिकाको नगरसभामा उपप्रमुख मिरा देवी दास केवरतले “कृषि, शिक्षा, स्वास्थ्य र दिगो पूर्वाधारः समृद्ध सुनवर्षीको आधार” भन्ने नारासहित बजेट प्रस्तुत गरेकी हुन्।

उनका अनुसार संघीय सरकार, प्रदेश सरकार, आन्तरिक स्रोत र सशर्त अनुदानबाट बजेटको स्रोत जुटाइनेछ। सार्वजनिक बजेटमध्ये ४९ करोड २२ लाख ४२ हजार रुपैयाँ चालु खर्चतर्फ र १७ करोड ९० लाख ८० हजार रुपैयाँ पूँजीगत खर्चतर्फ विनियोजन गरिएको छ।

कृषि तथा पशुपालनमा युवामुखी कार्यक्रम
कृषि तथा पशुपालनलाई व्यवसायिक बनाउँदै स्थानीय युवालाई रोजगारीमा जोड्ने उद्देश्यले १ करोड १६ लाख रुपैयाँ छुट्याइएको छ। सिंचाइ सुविधा विस्तार, बोरिङ जडान, मोटर वितरण, जैविक विषादी प्रयोग, तरकारी बीउ तथा पकेट खेती जस्ता कार्यक्रम समावेश गरिएका छन्। पशुपालनतर्फ सामुदायिक कुकुर बन्ध्याकरण, रेविज खोप, व्यावसायिक तालिम तथा माछा भुरा वितरण कार्यक्रम सञ्चालन गरिनेछ।

स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षामा जोड
स्वास्थ्य सेवा सुधारका लागि १ करोड ३८ लाख रुपैयाँ विनियोजन गरिएको छ। डेंगु तथा महामारी रोकथाम, स्वास्थ्य शिविर, सर्जिकल उपकरण खरिद तथा औषधी आपूर्तिमा खर्च गरिनेछ। शिक्षाक्षेत्र तथा महिला, बालबालिका र जेष्ठ नागरिक कार्यक्रमका लागि क्रमशः २ करोड २० लाख र ३० लाख रुपैयाँ छुट्याइएको छ। आर्थिक रूपले कमजोर मृतकका परिवारलाई किरिया खर्च स्वरूप ७ हजार रुपैयाँका दरले राहत दिइनेछ भने विपन्न बिरामीका लागि रङ्गेली नगर अस्पतालमा उपचार खर्चको व्यवस्था मिलाइनेछ।

पूर्वाधार र सुशासनमा विशेष बजेट
पूर्वाधार विकासका लागि २० करोड १५ लाख रुपैयाँ र संस्थागत विकास तथा सुशासन प्रवर्द्धनमा २१ करोड ६३ लाख रुपैयाँ बजेट छुट्याइएको छ। साथै वातावरण तथा विपद् व्यवस्थापनतर्फ ४० लाख रुपैयाँ विनियोजन गरिएको छ।

उपप्रमुख दासका अनुसार बजेट निर्माण प्रक्रियामा नगर प्रमुख श्याम प्रसाद राजबंशी, उपप्रमुख, वडा अध्यक्ष, कर्मचारी तथा स्थानीय नागरिकको सक्रिय सहभागिता र सुझाव समेटिएको छ। “सीमित स्रोतको अधिकतम उपयोग गर्दै समावेशी र प्रभावकारी बजेटमार्फत नगर विकासमा अग्रसर हुने हाम्रो लक्ष्य हो,” उनले नगरसभामा भनिन्।