कुकुरको घाँटीमा लुकाएर लागुऔषध ओसारपसार, ‘रक्की’सँगै मालिक पक्राउ
विराटनगर/ मोरङको उर्लाबारी नगरपालिका–४ का २४ वर्षीय प्रशान भण्डारी लागुऔषध ओसारपसारको आरोपमा पक्राउ परेका छन्। विशेष कुरा के छ भने उनले लागुऔषध कुकुरको माध्यमबाट ओसारपसार गर्ने प्रयास गरेका थिए।
प्रहरीका अनुसार भण्डारीले ‘रक्की’ नामक आफ्नै घरपालुवा कुकुरको घाँटीमा बाँधिएको बेल्टमा ब्राउन सुगर (खैरो हेरोइन) र नाइट्राजेपाम ट्याब्लेट लुकाएका थिए।
मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार कुकुरको बेल्टमा लुकाइएको अवस्थामा ३.३६ ग्राम ब्राउन सुगर र ३५ ट्याब्लेट नाइट्राजेपाम बरामद भएको हो।
भण्डारी बिहीबार दिउँसो कुकुरसहित सीमावर्ती भारतीय बजार जोगवनी पुगेका थिए र साँझ करिब ५ बजे फर्केका थिए। प्रारम्भिक चेकजाँचमा भण्डारीको साथमा लागुऔषध फेला नपरे पनि, उनलाई संकास्पद देखिएपछि थप अनुसन्धान गरिएको थियो। त्यस क्रममा कुकुरको बेल्टमा लागुऔषध लुकाइएको पत्ता लागेको प्रहरी बताउँछ।
हाल भण्डारीलाई कुकुरसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको मोरङ प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले कुकुरलाई लागुऔषध ओसारपसारमा प्रयोग गरिएको दुर्लभ घटना मानेको छ र यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।